सरकारमा रहेका मन्त्रीहरुलाई तत्काल राजीनामा दिन एमाले कर्णाली प्रदेश संसदीय दलको निर्देशन

चैत्र २२,२०७७

-आस्था न्यूज

चैत २२,२०७७ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएको छ ।
 
संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले तीन जना मन्त्रीलाई २४ घण्टामा राजीनामा दिन निर्देशन दिएको हो । बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसद पनि सहभागि रहेका थिए ।
 
२४ गते दिउँसो एक बजे संसदीय दलको अर्को बैठक बस्ने सहमति गर्दै तीन मन्त्रीलाई २४ घण्टाभित्र राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन निर्देशन दिएको हो ।
 
बैठकको निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
 
गत चैत ५ गतेदेखि नै लागु हुने गरी एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । संसदमा २० सिट रहेको एमालेले समर्थन झिक्दा सरकार अल्पमतमा परिसकेको छ ।
 
तर, यही सरकारमा एमालेको तीन मन्त्री छन् र उनीहरुले अहिलेसम्म राजीनामा दिएका छैनन् ।