तुवाँलोका कारण चैतमा पनि बिहान बेलुका चिसो

चैत्र २३,२०७७

-आस्था न्यूज

चैत २३, २०७७ काठमाडौं ।
काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहान बेलुका चिसो बढ्न थालेको छ ।
 
चैतको सुरुमा बिहान बेलुकाको तापक्रम बढे पनि केही दिनदेखि फेरि चिसो बढेको हो ।
 
वायुमण्डलमा तुवाँलो र प्रदूषण बढेका कारण चिसो पनि बढेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार तुवाँलो र प्रदूषणले घाम जमिनको सतहमा आउन नपाएकाले जमिन तात्न नपाएर चिसो बढेको हो । जमिन राम्रोसँग तात्न नपाउँदा अधिकतम र न्यूनतम तापक्रम घटेको र यसकै कारण चिसो भएको उहाँले बताउनुभयो ।
 
सामान्यतया चैतको यो बेला काठमाण्डौको न्यूनतम तापक्रम १३, १४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा धेरै हुने गर्थ्यो । तर केही दिनदेखि न्यूनतम तापक्रम ९ र अधिकतम तापक्रम २७ डिग्री सेल्सियसको हाराहारीमा रहने गरेको छ । पानी नपर्दासम्म प्रदूषण कायमै रहने र प्रदूषण रहेसम्म मौसम यस्तै रहने मौसमविद् अर्यालले बताउनुभयो ।
 
प्रदूषण हट्ने गरी तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको पनि उहाँले जानकारी दिनभयो । यस्तै वातावरण विभागले पनि प्रदूषण पूर्णरुपमा हट्न समय लाग्ने बताएको छ ।