भारतमा एकैदिन एक लाखभन्दा बढीलाई कोरोना संक्रमण, एक साता लकडाउन

चैत्र २३,२०७७

-आस्था न्यूज

चैत्र २३, २०७७ काठमाडौं ।
भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजार ५ सय ५८ जनामा कोरोना पुष्टि भएको छ ।
 
भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएयता एकैदिन संक्रमितको संख्या एक लाख नाघेको यो पहिलो पटक हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार नाघेको छ । 
 
त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा थप ४७८ जनाको कोरोनाले मृत्यु भएको छ । भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६५ हजार १ सय १ पुगेको छ ।
 
पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, दिल्लीलगायतका राज्यमा कोरोना संक्रमण तीव्र बन्दै गइरहेको छ ।
 
महाराष्ट्र सरकारले आइतबार साँझ ८ देखि बिहान ७ बजेसम्म एक साताका लागि लकडाउन घोषणा गरेको छ । यसअघि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले संक्रमण फैलने क्रम नरोकिए लकडाउन गर्ने चेतावनी दिएका थिए ।
 
संक्रमण बढेपछि उडिसाले पनि विभिन्न १० जिल्लामा राति १० देखि बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरेको छ ।