कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले मंगलबार राजीनामा दिने

चैत्र २३,२०७७

-आस्था न्यूज

चैत २३, २०७७ काठमाडौं ।
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले भोलि मंगलबार मात्र राजीनामा दिने भएका छन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले सोमबार राजीनामा दिने भनिए पनि मन्त्रीहरुले मंगलबार राजीनामा दिने बताएका छन् । 
 
मंगलबार पत्रकार सम्मेलननै गरेर राजीनामा दिने र पार्टीको बैठकमा सहभागी हुने सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । 
 
उनले भने, ‘पार्टीको निर्णयअनुसार नै हामी भोलि राजीनामा दिन्छौँ । त्यसपछि मात्रै पार्टीले बोलाएको बैठकमा सहभागी हुन्छौँ ।’ आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले सरकारबाट राजीनामा दिन लागेका हुन् । कर्णालीमा एमालेले एकल सरकार बनाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा माग समेत गरिसकेको छ ।  
 
पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेकाले मन्त्रीहरुले राजीनामा दिन लागेका हुन् ।  यसअघि आइतबार बसेको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले तीनैजना मन्त्रीलाई तत्काल राजीनामा गर्न निर्देशन दिएको थियो । 
 
यसअघि गत चैत चार गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र  १ जना राप्रपाका सांसद छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ ।