महाकालीमा मिचेर भारतले पर्खाल बनाएको विषयमा दुवै देशले स्थलगत अध्ययन गर्ने

चैत्र २३,२०७७

-

चैत २३, २०७७ काठमाडौं ।
दार्चुलाको सदरमुकाम खलंगा लगायतका क्षेत्रमा भारतले महाकाली नदीको धार परिवर्तन हुने र नेपालको भूमिमा क्षति पुग्ने गरी निर्माण गरिरहेको तटबन्ध पर्खालबारे नेपाल र भारतका अधिकारीले स्थलगत अध्ययन गर्ने भएका छन् । 
 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधिसभालाई उक्त विषयमा जानकारी गराएका छन् । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूलगायतले भारतले एकतर्फी रूपमा महाकालीमा पर्खाल लगाइरहेको र नेपाली भूमि मिचिएको भन्दै प्रश्न उठाएका थिए ।
 
सोही विषयमा जवाफ दिँदै मन्त्री ज्ञवालीले भने, भारतले बनाउँदै गरेको सुरक्षा वालको बारेमा सदनमा प्रश्न उठेको छ । त्यो वाल निर्माण गर्दै जाँदा दुई देशको सीमा छोएर, मिचेर वाल बनाइएको छ भन्ने विषय आइसकेपछि सरकारले गम्भीर रूपमा छलफल गरेको छ ।
 
सरकारले नापी अधिकृतको नेतृत्वमा सेना, प्रहरी, जिल्ला प्रशासन दार्चुलाका प्रतिनिधिले स्थलगत अध्ययन गरेको थियो । त्यो अध्ययनबाट भारतबाट निर्माण भएको वालको विषगयमा वास्तविकता पत्ता लगाउन र अन्तर्राष्ट्रिय सीमाको कदर गरेको छ कि छैन भन्ने तथ्य पत्ता लगाउन स्थलगत अध्ययन गर्नुपर्ने सुझाव दिएको थियो ।
 
सोही सुझावअनुसार आगामी साता दुवै देशका अधिकारी उक्त स्थलमा जाने मन्त्री ज्ञवालीले जानकारी दिए । उनले चैत ३० (अप्रिल १२) मा दुवै मुलुकका अधिकारी जाने पनि जानकारी दिए । उनले नेपाल सरकार मुलुकको सीमा सुरक्षा गर्नका लागि तदारुकताका साथ लागिरहेको पनि जानकारी दिए ।
 
मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको केही दिन पहिलेको बंगलादेश भ्रमणबारे पनि प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।