कर्णाली प्रदेश सरकारबाट एमालेका तीन मन्त्रीले राजीनामा दिए, शाही सरकार धरापमा

चैत्र २४,२०७७

-आस्था न्यूज

चैत २४, २०७७ काठमाडौं ।
कर्णाली प्रदेशमा पार्टीको निर्णयअनुसार माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारबाट एमालेका तीन मन्त्रीले राजीनामा दिएका छन् । 
 
मंगलबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् । 
 
कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिएपनि मन्त्रीहरुले  मंगलबार राजीनामा दिएका हुन् ।
 
आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
 
एमालेका तीन जना मन्त्रीहरुले राजीनामा दिएसँगै शाही नेतृत्वको कर्णाली प्रदेश सरकार पद धरापमा परेको छ ।