सरकारलाई लिखित समर्थन जनाउन जसपालाई ओलीको आग्रह

बैशाख ०२,२०७८

-आस्था न्यूज

वैशाख २,२०७८ काठमाडौं ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई लिखित रुपमा समर्थन जसपाका अध्यक्ष ठाकुरसँग आग्रह गरेका छन् । कार्यदलसहित जसपा नेपालका अध्यक्ष ठाकुरसँग गरेको छलफलमा प्रधानमन्त्री ओलीले आधिकारिक घोषणा गर्न आग्रह गरेको स्रोतले जनाएको छ । 
 
जसपाको माग पुरा गर्न सरकारले प्रकृया सुरु गरिसकेको हुनाले अब जसपा नेपालले पनि आधिकारिक घोषणा गर्नुपर्ने प्रधानमन्त्री ओलीले भनेको बैठकमा सहभागी एक नेताले बताए ।
 
माओवादी केन्द्रले जुनसुकै बेला सरकारबाट समर्थन फिर्ता लिने सक्ने भएका हुनाले प्रधानमन्त्री ओलीले सरकारको समर्थनको सुनिश्चितता खोजेका छन् । 
 
सरकारविरुद्ध मोर्चा बनाउने गतिविधि तीब्र भएको कारण प्रधानमन्त्री ओलीले जसपा नेपालको साथ खोजेका छन् ।
 
प्रधानमन्त्री ओलीले गरेको आग्रहमा अध्यक्ष ठाकुरले अहिलेसम्म जसपाले कसैलाई समर्थन नगरेको जवाफ दिए । मुद्दा फिर्ता र बन्दी रिहाइ भएपछि त्यस आधारमा पार्टीमा छलफल गर्न सजिलो हुने भएकाले चाँडै नै मुद्दा फिर्ता र बन्दी रिहाइको कार्य गर्न ठाकुरले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
 
प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन जसपा नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले काँग्रेस र माओवादी केन्द्रसँग छलफल चलाइरहेका बेला प्रधानमन्त्री ओलीले जसपाका अर्का अध्यक्ष ठाकुरसँग छलफल गरेका हुन् ।