हैदरावादलाई १३ रनले पराजित गर्दै मुम्बई आईपीएलको शीर्ष स्थानमा

बैशाख ०५,२०७८

-

वैशाख ५, २०७८ काठमाडौं ।
साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार दोस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ ।
 
पहिलो खेलमै पराजित भएको मुम्बईले त्यसयता लगातार दोस्रो खेल जित्ने क्रममा  शनिबार राति  सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो ।
 
जितपछि रोएल च्यालेन्जर्स समान ४ अंक जोडेको मुम्बई रनरेटका आधारमा अगाडि छ ।
 
मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९.४ ओभरमा सबै विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । यस्तै कप्तान डेभिड वार्नरले ३६ र विजय शंकरले २८ रन जोडे । विराट सिंहले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
 
हैदरावादलाई अलआउट गर्न मुम्बईका ट्रेण्ट बोल्ट र राहुल चाहरले ३-३ विकेट लिए ।
 
तयसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । मुम्बईका लागि क्वेन्टन डी ककले सर्वाधिक ४० रन बनाए । यस्तै काएरन पोलार्डले अविजित ३५ रन बनाए । कप्तान रोहित शर्माले ३२ रन बनाए ।
 
हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २-२ विकेट लिए ।
 
जितपछि मम्बईले ३ खेलबाट ४ अंक जोडेको छ । उता हैदरावादको खराब प्रदर्शन जारी रहँदा लगातार तेस्रो हार बेहोरेको छ । हेदरावाद अंकविहीन हुँदे पुछारमा छ ।
 
लिगमा आज दुई खेल हुँदैछ । दिउँसो ३:४५ बजे सुरु हुने खेलमा रोएल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्स तथा बेलुका ७:४५ बजे सुरु हुने खेलमा दिल्ली क्यापिटल्स र पञ्जाव किंग्स भिड्नेछन् ।