मलाई देश र जनताको लागि काम गर्न कसैले रोक्न सक्ने छैनः सभामुख सापकोटा

बैशाख ०५,२०७८

-आस्था न्यूज

वैशाख ५,२०७८ काठमाडौं ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले संविधानको रक्षार्थ अगाडि बढ्न खोज्दा घेराबन्दी भएको बताएका छन् । त्यस्तै, प्रतिनिधिसभा र यसको नेतृत्वमाथि अनेक खालका टिप्पणी भइरहेको भन्दै आफू जनताको अधिकतम हितमा लाग्ने उनको भनाइ थियो । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्च र सर्वदलीय बैठकमा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतालाई सभामुख सापकोटाले रोकेर असंवैधानिक काम गरेको भन्ने आरोप दोहोर्‍याइरहेको अवस्थामा सभाखुको यस्तो अभिव्यक्ति आएको हो ।
 
नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रममा आइतबार सभामुख सापकोटाले आफ्नासामु निक्कै ठूलो चुनौती खडा भएको बताए ।
 
संघीय संसद्लाई चलयामान बनाउने, संविधानको रक्षार्थ प्रतिनिधिसभा दृढतापूर्वक अगाडि बढ्न सुरु गर्‍यो, त्यहींबाट घेराबन्दी हुन थाल्यो । निकै ठूलो घेराबन्दी भइरहेको छ । अनेकखालका टिप्पणी भइरहेका छन् उनले भने ।
 
प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन लागिरहेको अवस्थामा धेरै मान्छेलाई संसद्‌बारे भ्रममा पारिएको सभामुख सापकोटाको भनाइ थियो । 
 
धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ । केही मान्छेलाई सधैंभरी भ्रममा पार्न सकिन्छ, सबै मान्छेलाई सधैंभरी भ्रममा पार्न सकिँदैन, उनले भने, यो व्यक्ति-व्यक्ति बीचको, अधिकारीबीचको टक्कर हो कि भनेर टिप्पणी हुन्छ तर यो दृष्टिकोणको बीचमा टक्कर हो ।
 
सभामुख सापकोटाले संविधान र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने मामिलामा आफू सधैं दृढ भएर लाग्ने बताए । नेपालको संविधानलाई रक्षा र विकास गर्ने कुरामा म दृढ छु । 
 
भन्नेले के भन्छन् मैले वास्ता गरेको छैन, म लुरुलुरु अगाडि बढेको छु । मैले जे गरेको छु देशलाई सम्झेर गरेको छु ।