सहमति कार्यान्वयन नभएकोमा ओलीसँग विप्लवको असन्तुष्टि

बैशाख ०५,२०७८

-आस्था न्यूज

वैशाख ५,२०७८ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।
 
भेटमा सरकारसँग भएको तीन बुँदे समझदारीअनुसार बन्दीको रिहाइ नभएको प्रति विप्लवले गुनासो गरेका छन् ।
 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।
 
विप्लवले वार्तामा भएका सहमति कार्यान्वयनका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री ओलीले सरकारले यथाशक्य छिटो बन्दी रिहाइको तयारी गरेको र मुद्दा खारेजी हुने जानकारी दिएका थिए ।
 
देशको पछिल्लो राजनीतिक घटनाक्रम डरलाग्दो ढंगले अघि बढेको र यसलाई सही मार्गमा ल्याउन अग्रगामी र दीर्घकालीन समाधान खोज्ने विषयमा समेत सहमति भएको छ ।
 
हिजो मात्रै प्रधानमन्त्री ओली र वार्ता टोलीका प्रमुख तथा प्रवक्ता प्रकाण्डबीच छलफल भएको थियो ।
 
प्रधानमन्त्री ओलीसँगको भेटमा आज मात्रै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई पनि सहभागी थिए भने नेकपाका तर्फबाट महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।