स्पष्टीकरणको जवाफ दिने र कानुनी लडाइँ लड्ने नेपाल समूहको निर्णय

बैशाख ०७,२०७८

-आस्था न्यूज

वैशाख ७,२०७८ काठमाडौं ।
सत्तारुढ नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कारबाही गरेमा कानुनी र राजनीतिक लडाइ लड्ने निर्णय गरेको छ । 
 
काठमाडौंमा उपलब्ध एमालेका नेपाल समूहका सांसदको आकस्मिक बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने र कानुनी लडाइँ पनि लड्ने निर्णय गरेको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
 
नयाँ बानेश्वरमा मंगलबार बसेको नेपाल समूहका सांसदको मंगलबारको बैठकपछि सांसद झाँक्रीले भनिन्, स्पष्टीकरण दिन्छौं, कानुनी प्रतिरक्षा गर्छौं र राजनीतिक लडाइँ पनि लड्छौं ।
 
माधवकुमार नेपाल पक्षमा लागेका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेश सभाका ५ जना सदस्यलाई ओलीले स्पष्टीकरण सोधेका थिए । त्यसपछि नेपाल समूहका सांसदको आकस्मिक बैठक बसेको थियो । आकस्मिक हिसाबमा बस्यौं । व्यक्तिगत स्पष्टीकरण सोधेको भएर व्यक्तिगत रूपमा नै बुझाउँछौं । यो कुनै स्पष्टीकरण दिनलायक स्पष्टीकरण सोधिएको त होइन । स्पष्टीकरण दिएनौं भने प्रतिरक्षा नगरेको हुन्छ । हामी अदालतसम्म जान्छौं ।
 
अध्यक्ष ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकमा नजाने पनि झाँक्रीले बताइन् । २०७५ जेठ ३ गते पहिलेको एमाले मात्रै आफूहरूले चिन्ने र २०७७ फागुन २८ गते थप भएर आएको बैठकमा नबस्ने पनि उनको भनाइ थियो ।