आज रामनवमी पर्व मनाइदै

बैशाख ०८,२०७८

-

वैशाख ८, २०७८ काठमाडौं ।
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ ।
 
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमीका अवसरमा देशभरका राम मन्दिरहरुमा पूजापाठ गरिन्छ । जनकपुरस्थित रामजानकीको मन्दिरमा पनि नेपाल तथा भारतका नरनारीको घुइँचो छ ।
 
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको जेठो छोरोको रुपमा विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको धर्मग्रन्थमा उल्लेख छ । रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेको र दुष्टहरुको संहार गरेको वाल्मिकीय रामायणमा पढ्न पाइन्छ ।
 
रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने धार्मिक विश्वास छ ।
 
गत वर्षजस्तै यस वर्ष पनि कोरोना संक्रमणको जोखिम भएकाले मन्दिरहरुमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।