सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने जिम्मा प्रचण्डलाई

बैशाख ०८,२०७८

-आस्था न्यूज

बैशाख ८,२०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्न अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने जिम्मा दाहाललाई दिइएको बताए ।
 
वर्तमान केपी ओलीको नेतृत्वमा रहेको यो सरकारलाई समर्थन नरहेको औपचारिक लिखित जानकारी कहिले दिने भन्ने निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष प्रचण्डलाई दिइएको हो। 
 
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार कटाक्ष गर्दै आएका छन् । तर एक नेताका अनुसार अविश्वास प्रस्ताव दर्ता नहुँदासम्म माओवादीले समर्थन फिर्ता नलिने भएको हो । अविश्वास प्रस्ताव दर्ताबारे कांग्रेस र जसपासँग संवाद भइरहेको पनि ती नेताले बताए ।
 
बैठकले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको रक्षालाई केन्द्रमा राखेर नीति कार्यक्रम अगाडि बढाउने निर्णय गरेको उनले बताए । ‘सिंगो राष्ट्रको एकता, राष्ट्रिय स्वाधिनताको रक्षा, सम्पूर्ण लोकतान्त्रीक शक्तिहरुको एकता, संविधान, लोकतन्त्रको रक्षा, सच्चा कम्युनिष्टको एकतालाई केन्द्रविन्दुमा राखेर सम्पूर्ण नीति, योजना र कार्यक्रम अगाडि बढाउने निष्कर्ष निकालेको बैठकपछि नेता श्रेष्ठले बताए ।
 
बैठकमा पार्टी विधान संशोधन कार्यदलले मंगलबार पेस गरेको विधान मस्यौदामाथि नेताहरुले आफ्ना धारणा राखेका थिए । नेताहरुका सुझावलाई समेत ध्यान दिएर पार्टी केन्द्रीय कार्यालयले त्यसलाई अन्तिम मस्यौदाको रुपमा केन्द्रीय कमिटी बैठकमा प्रस्तावका रुपमा लैजाने निर्णय गरेको श्रेष्ठले बताए ।