कामदारलाई सीपयुक्त बनाउन भन्दै उद्योगको काम छोडेर तालिममा

बैशाख ०९,२०७८

-आस्था न्यूज

वैशाख ९, २०७८ काठमाडौं ।
औद्योगिक प्रतिष्ठान र मजदुरबीचको सम्बन्ध श्रम र पारिश्रमिकले सुमधुर बनाउन थालेपछि कामदारलाई सीपयुक्त बनाउन उद्योगीले चासो बढाउन थालेका छन् । 
 
उद्योगको आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा प्रतिष्ठानहरूले संस्थागत चासो राख्न थालेपछि सीपमूलक दक्ष कामदार आपूर्ति सहज बन्दै गएको हो ।
 
सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रतिष्ठानले लामो समय काम गर्दै आएका र नवप्रवेशी कामदारलाई आवश्यकता अनुसारको सीपमा जोड्न थालेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत समृद्धि आयोजनाले प्रदेश १ का सातवटासहित देशभरका १६ जिल्लामा दक्ष कामदार उत्पादनका लागि कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।
 
नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ सँगको साझेदारीमा मन्त्रालयअन्तर्गत समृद्धि परियोजना कार्यालय इटहरीले अर्धदक्ष कामदारलाई दक्ष बनाउन औद्योगिक प्रशिक्षक प्रशिक्षण तालिम दिँदै आएको छ । 
 
एक महिनासम्म सम्बन्धित विषयमा केन्द्रित सैद्धान्तिक तालिम दिइसकेका मजदुरलाई पाँच महिनासम्म सम्बन्धित उद्योगमा व्यावहारिक अभ्यास गराइँदै आएको छ । गोरखापत्रमा खबर छ ।