चौध बालीका ३६ नयाँ जात सिफारिस

बैशाख ०९,२०७८

-आस्था न्यूज

वैशाख ९, २०७८ काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उन्मोचित विभिन्न १४ वटा बालीका नयाँ जातको अनुमोदन गरेको छ । सरकार तथा निजी क्षेत्रबाट उन्मोचन तथा दर्ताका लागि प्रस्ताव गरिएका विभिन्न बालीका ३६ जातको अनुमोदन गरी मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशनका लागि सरकारलाई सिफारिस गरेको मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले जानकारी दिनुभयो ।
 
३६ वटा जातमध्ये नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले उन्मोचन गरेका मकै, गहुँ, फापर र गोलभेँडाका १५ वटा जात छन् भने बाँकी २१ वटा जात निजी क्षेत्रले उन्मोचन गरेको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख बेनुप्रसाद प्रसाईंले जानकारी दिनुभयो ।
 
धानका टीएमआरएच १२४, एमपीआर ५०५, एमपी ३०३०, एरिज ए जेठ ६६३३ एसटी, २७ पी २२ र आरएचआर १११ गरी छवटा जात दर्ता गरिएको छ । मकैका मनकामना–१ जातको एक, गहुँको मुडुले एक, कौटीला, तिला, सुर्मा, भेरीगङ्गा, हिमगङ्गा, खुमल शक्ति, जिङ्क, गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लोग–२०२० गरी १० वटा, फापरको तितेफापर १ र तिते फापर–२ गरी दुई जात उन्मोचन गरिएको छ । 
 
त्यस्तै कोदोको रातो कोदो जातको एक, उखुको जितपुर–५, ६ र ७ गरी तीनवटा जात, लट्टेको लाल मार्से जातको एक, चिनोको दूधे चिनो जातको एक, कागुनोको बरियो कागुनो जातको एकवटा बाली उन्मोचन गरिएको छ । गोरखापत्रमा खबर छ ।