नेपाल पक्षले अर्को पार्टी खोलेर हिँड्दा पनि अर्झै सम्झाइ-बुझाइ गरिरहेको छुः ओली

बैशाख ०९,२०७८

-आस्था न्यूज

वैशाख ९,२०७८ काठमाडौं ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्ष अर्को पार्टी खोलेर हिँड्दा पनि कारबाही नगरी सम्झाइ–बुझाइ गरिरहेको बताएका छन् । 
 
नेपाल कम्युनिस्ट पार्टीको ७३औं स्थापना दिवसको अवसरमा बिहीबार बल्खुमा केन्द्रीय कार्यालय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भरसक पार्टीमा क्षति नहोस् भनेर अर्को पक्षका नेताहरूलाई सम्झाउने प्रयासमा रहेको बताए ।
 
‘यति उपद्रो गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि अहिलेसम्म हाम्रो प्रयास कारबाही नगरी सम्झाउनेमा छ, सच्याउनेमा छ । अहिले पनि हाम्रो प्रयास भरसक पार्टीमा क्षति नहोस् भन्ने छ,’ उनले भने । बुधबार साँझ ओली र नेपालबीच करिब दुई घण्टा वार्ता भएको थियो ।
 
उक्त भेटवार्तालाई लक्षित गर्दै ओलीले नेताहरूलाई सम्झाउने आफ्नो प्रयासलाई कमजोरीका रूपमा नलिन पनि चेतावनी दिए । व्यक्तिगत रूपमा नेताहरूसँग कुराकानी भए पनि अब पार्टीमा गुटगत गतिविधिलाई मान्यता दिन नसकिने ओलीको भनाइ छ । 
 
नेपालको लोकतान्त्रिक र संसदीय इतिहासमा नेपाल पक्षबाट अराजक काम भएको आरोप पनि उनले लगाए ।