कोरोनाबाट उत्पन्न परिस्थितिको सामना गर्ने योजना बनाउन सरकारलाई निर्देशन

बैशाख १४,२०७८

-आस्था न्यूज

वैशाख १४, २०७८ काठमाडौं ।
कोरोना संक्रमणको बढ्दो अवस्थाले उत्पन्न परिस्थितिको सामना गर्ने योजना बनाउन सरकरालाई संसद अन्तर्गतको महिला तथा सामाजिक समितिले निर्देशन दिएको छ ।
 
प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका कारण आगामी दिनमा देखिने चुनौतीको पूर्व आँकलन गरी तयारीका काम समयमा नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको हो ।
 
समितिले आगामी दिनमा देखिन सक्ने चुनौतीहरुलाई पूर्व आँकलन गरी कार्य सम्पादन गर्न, गराउन समिति गृह मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।
 
त्यस्तै निषेधाज्ञा एवं बन्दाबन्दीको क्रममा महिला, बालबालिका, जेष्ठ नागरिक, फरक रुपले सवल एवम् लैंगिक अल्पसंख्यकहरु माथि हुनसक्ने हिंसा न्यूनीकरण, नियन्त्रणमा पूर्व तयारी गर्न पनि निर्देशन दिएको समिति सभापति निरु देवी पालले जानकारी दिइन ।
 
बैठकले विभिन्न वर्गमैत्री क्वारेन्टीनको प्रबन्ध समयमा नै मिलाउन पनि निर्देशन दिएको सभापति पालले जानकारी दिइन । कोरोनाको खोप अन्य केही देशमा समेत नपुगेको अवस्थामा नेपालमा उपलव्ध हुनु सकारात्मक भएको भन्दै पालले आगामी दिनमा यसको सर्वसुलभतामा पनि सरकारले ध्यान दिने विश्वास व्यक्त गरेकी छन् ।