ओखलढुंगामा जंगलबाट डढेलो गाउँ पस्दा तीन घर जलेर नष्ट

बैशाख १४,२०७८

-आस्था न्यूज

वैशाख १४, २०७८ काठमाडौं ।
ओखलढुंगामा जंगलबाट सल्केको आगो गाउँ पस्दा तीन घर जलेर नष्ट भएको छ । जिल्लाको मोलुङ गाउँपालिका-१ कुन्तादेविस्थित कुन्तादेवि सामुदायिक वनबाट सल्केको आगो गाउँ पस्दा डुलडुले बस्तीको तीन घर जलेर नष्ट भएको हो ।
 
सोमबार बेलुका जङ्गलबाट सल्केको आगो गाउँमा पस्दा स्थानीय नीर बहादुर प्रधान, मणिकुमार प्रधान र पेशल प्रधानको घर जलेर नष्ट भएको घटनास्थलबाट स्थानिय माधव कार्कीले जनकारी दिए । 
 
सोमबार बेलुकाबाट जंगलमा अचानक लागेको आगो बस्तीमा पसको हो । आगलागीबाट अन्य दुई घरसमेत उच्च जोखिममा रहेको स्थानिय कार्कीको भनाइ छ ।
 
गत २४ घण्टादेखि निरन्तर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् ।  आगो नियन्त्रणका लागी स्थानीय,नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेनासहितको टोली परिचालित भएका छन् ।
 
मंगलबार नगरपालिकाको दमकल समेत आगो नियन्त्रणमा लागि पुगेको कार्कीको भनाइ छ । आगो ठूलो मात्रामा फैलिएकाले नियन्त्रणमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
 
यता मानेभञ्ज्यङ गाउँपालिका–६ स्थित थाक्ले सामुदायिक वनमा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार दिउँसोबाट जङ्गलमा आगलागी हुँदा सयौँ हेक्टर वनक्षेत्र जलेर नष्ट भएका छन् ।
 
यी दुबै स्थानमा भएको आगलागी नियन्त्रणका लागि प्रयास भैरहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले बताए ।