ग्लोबल आईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड

बैशाख १५,२०७८

-आस्था न्यूज

वैशाख १५,२०७८ काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
 
बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६ लाख रुपैयाँ अर्थात ३२.४० प्रतिशत बढी हो । खुद मुनाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा राम्रो सुधार भएको छ । 
 
गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १८ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २२ रुपैयाँ ५ पैसा कायम भएको छ । 
 
यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकले आफ्नो व्यवसायमा गरेको बृद्दि, सञ्चालन खर्चहरुमा अपनाएको मितव्ययिता, डिजिटाइजेशनमा गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकता जस्ता नीतिहरुको सफल कार्यान्वयनबाट उल्लेखित वित्तीय प्रगति गर्न सफल भएको छ ।
 
विगत ९ महिनामा बैंकको निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको खुद कर्जा लगानी १ खर्ब ९८ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको आषाढ मसान्तमा १.७६ प्रतिशत रहेको निष्कृय कर्जा चैत्र मसान्तसम्म क्रमिक सुधार भइ १.६१ प्रतिशत रहेको छ ।
 
 बैंकको आधार दर ९.४१ प्रतिशतबाट ६.४० प्रतिशतमा र स्प्रेड दर ५.१८ प्रतिशतबाट ४.१७ प्रतिशतमा झरेको छ । बैंकको आधार दरमा आएको उल्लेख्य गिरावटबाट बैंकका ग्राहकहरु समेत प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।