भारतबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद सुरू

बैशाख १९,२०७८

-

वैशाख १९, २०७८ काठमाडौं ।
 
सम्झौताका आधारमा मूल्य निर्धारण गरी भारतबाट विद्युत् किन्ने गरेकामा नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट डे अहेड विधिअनुरूप प्रतिस्पर्धी दरमा सोझै विद्युत् खरिद गर्न सुरु गरेको छ । 
 
प्राधिकरणले पहिलो दिन शनिबार राति १२ः०० बजेबाट दुई सयदेखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमार्पmत खरिद गरी ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरिएको जनाएको छ ।
 
प्राधिकरणले दुई साता पहिले भारतीय ऊर्जा एक्सचेन्जको सदस्यता प्राप्त गरेसँगै यसका लागि प्रक्रिया अघि बढाएको थियो । यससँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्रसमेत बनेको छ ।
 
भारतीय इनर्जी एक्सचेन्जको डे अहेड विधिअनुसार विद्युत् बुकिङ गर्दा प्रत्येक १५ मिनेटको स्लटका लागि छुट्टाछुट्टै शुल्कअनुसार दाबी गर्न सकिन्छ । नेपालले यही विधिअनुसार बुकिङ गर्दा शनिबारभरका लागि सबै शुल्क जोडेर औसतमा प्रतियुनिट तीन रुपियाँ ८१ पैसा भारतीय रुपियाँमा बिजुली किन्न पाएको प्राधिकरणले जनाएको छ ।
 
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी अहिले आयात गरिरहेको मूल्यभन्दा प्रतियुनिट भारु ३७ पैसा सस्तोमा विद्युत् खरिद गर्न प्राधिकरण सफल भएको हो ।
 
“प्राधिकरणले पहिलोपल्ट भारतीय बजारले निर्धारण गरेको दरमा शनिबारका लागि खरिद गर्दा सस्तोमा विद्युत् पाएका छौँ,” उहाँले भन्नुभयो, “यसबाट शनिबारको खरिदमा मात्र हाम्रो करिब ३० लाख ४८ हजार रुपियाँ बचत भएको छ, अन्य दिनमा पनि विद्युत् खरिदका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ । ” 
 
प्राधिकरणले अहिले भारतबाट ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य ४.१८ भारु छ ।
 
प्राधिकरणले अहिलेसम्म सम्झौताका आधारमा एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन), पावर ट्रेड कम्पनी (पीटीसी) र विहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्य सरकारका वितरण कम्पनीहरूसँग विद्युत् खरिद गर्दै आएको छ । गोरखापत्रमा खबर छ ।