लुम्बिनीको विशेष अधिवेशन आजदेखि सुरु

बैशाख १९,२०७८

-आस्था न्यूज

वैशाख १९,२०७८ काठमाडौं ।
लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । विशेष अधिवेशनले एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध विपक्षी दलले दर्ता गराएको अविश्वास प्रस्ताव टुंगो लगाउने छ ।
 
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा सत्ता पक्ष र विपक्षी दलका सांसदहरुले अविश्वास प्रस्तावमाथि आ–आफ्ना धारणा राख्ने छन् । सोमबार मुख्यमन्त्री पोखरेलले छलफलमा उठेका विषयमाथि आफ्नो भनाइ राखेपछि अविश्वास प्रस्तावमाथि मतदान हुने छ ।
 
विपक्षी दलहरुले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरेका छन् । उनीहरूले अविश्वास प्रस्तावमाथि आजै मतदान गराउनुपर्ने अडान राखेपनि सत्ता पक्षले नमानेकाले मतदान एक दिनपछि धकेलिएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।
 
विपक्षी दलले अविश्वास प्रस्तावको तयारी गरेपछि चैत ५ गते मुख्यमन्त्री पोखरेलले हिउँदे अधिवेशन अन्त्य गराएका थिए । अधिवेशन अन्त्य भएको एक महिनापछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।