महन्थको व्यस्तता एकाएक बढ्यो, सांसद र केन्द्रीय सदस्यलाई तत्काल काठमाडौँ आउन आग्रह

बैशाख २०,२०७८

-आस्था न्यूज

वैशाख २०,२०७८ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षको व्यस्तता एकाएक बढेको छ ।
 
केपी ओलीसँग नरम देखिएको जसपा (महन्थ ठाकुर पक्ष) ले कार्यकारिणी समितिका सदस्य र सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । 
 
काठमाडौँमा रहेका कार्यकारिणी सदस्य तथा सांसदको हस्ताक्षर संकलन सुरु भएको छ भने उपत्यका बाहिर रहेका कार्यकारिणी सदस्य र सांसदलाई आज साँझसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको छ ।
 
जसपाको पार्टी कार्यालयमा कार्यरत प्रदीप पाठकले (महन्थ ठाकुर निकट) पार्टीका अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र सांसदहरुलाई फोन गरेर जानकारी संकलन गरिरहेको जसपाका एक सांसदले बताए । 
 
जसपाका अध्यक्ष उपेन्द्र यादवले यसअघि कार्यकारिणी सदस्य र सांसदको हस्ताक्षर गरेर लुम्बिनीका चारजना प्रदेशसभा सदस्य र पार्टीका नेतालाई कारवाही गरिसकेका छन् । 
 
साथै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने प्रयोजनका लागि पनि उपेन्द्र–बाबुराम पक्षले हस्ताक्षर संकलन गरेको नेताहरु बताउँछन् । 
 
त्यसैगरी अर्का अध्यक्ष महन्थ ठाकुरले पनि केपी ओलीको पक्षमा आफ्ना पक्षका सांसद तथा पार्टीका कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेका हुन् ।
 
प्रधानमन्त्री ओलीले १२० जनाको मुद्दा फिर्ता गरेपछि जसपाको ठाकुर पक्षले ओलीलाई समर्थन गर्ने संकेत देखिएको छ । विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले प्रकृया सुरु गरेपछि महन्थ ठाकुर पक्षले ओलीलाई समर्थन गर्ने जनाउदै आएका छन् ।