लकडाउन थप कडा पार्दै सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द

बैशाख २१,२०७८

-आस्था न्यूज

वैशाख २१,२०७८ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन थप कडा पार्दै अत्यावश्यकबाहेक सबै सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द रहने बताउनुभएको छ ।
 
उहाँले सोमबार देशबासीको नाममा सम्बोधन गर्दै संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने एक हदसम्मको लकडाउन आवश्यक छ भन्ने विज्ञहरूको सल्लाहअनुसार निषेधाज्ञा जारी गरिएको र यसलाई थप कडा पारिने बताउनुभएको हो ।
 
उहाँले कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको दर र मृत्युदर गत वर्षको तुलनामा बढी रहेकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो-‘यसलाई थप कडाइ गरिँदै छ र प्रभावकारी ढंगले लागू गर्न पहिले झैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।’
 
उहाँले वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान र वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको जानकारी पनि दिनुभयो ।
 
नेपाली नागरिकको प्रवेशका लागि नेपाल-भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्‍चालनमा ल्याइएको जानकारी दिँदै उहाँले आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत् सञ्‍चालन हुने व्यवस्था मिलाइएको बताउनुभयो । 
 
भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइनुका साथै सबै तहमा कन्ट्याक्ट ट्रेसिङ बढाउन लगाइएको पनि उहाँले बताउनुभयो । 
 
उहाँले प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको पनि बताउनुभयो । नेपाल समाचारपत्रमा खबर छ ।