अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय

बैशाख २१,२०७८

-आस्था न्यूज

वैशाख २१, २०७८ काठमाडौं ।
सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
 
दाहाललाई एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाले २०७६ जेठमा राजदूत बनाउने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई २०७६ असोज २८ गते राजदूतमा नियुक्त गरेकी थिइन् ।
 
तत्कालीन राजदूत लक्की शेर्पालाई फिर्ता बोलाएर नेकपाका कार्यकारी अध्यक्ष तथा हाल माओवादी केन्द्र पार्टीका अध्यक्ष पुष्पकमल दाहालको सिफारिसमा दाहाललाई राजदूतका लागि सिफारिस गरिएको थियो ।
 
नेकपालाई सर्वोच्च अदालतले पुरानै अवस्थामा ल्याएर एमाले र माओवादी पार्टी बनाइदिएपछि एमाले नेतृत्वको केपी ओली सरकारले माओवादी कोटाका राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
 
प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्षबीच विवाद बढिरहँदा राजदूत दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो ।
 
सत्ता भागबण्डाको राजनीति उत्कर्षमा पुगेसँगै सरकारले माओवादी सिफारिसमा रहेका गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख फेर्ने निर्णयका साथमा अस्ट्रेलियास्थित राजदूत महेशराज दाहाललाई फिर्ता गर्ने निर्णय गरेको हो । 
 
परराष्ट्र स्रोतका अनुसार, जापानस्थित राजदूत प्रतिभा राणा र ओमानस्थित राजदूत शर्मिला पराजुली ढकालको राजदूत पदावधि पुरा भएर पनि ‘अनिश्चितकालका लागि’ म्याद थप गरिएको छ । मन्त्रिपरिषद्‍मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ल्याएको राजदूत फिर्ताबारेको प्रस्तावमा कुनै छलफल भने भएकै थिएन ।
 
फरक राजनीतिक पृष्ठभूमि र सिफारिसमा नियुक्ति पाएका भए पनि जापानस्थित राजदूत राणा (राप्रपा) र ओमानस्थित ढकाल ९तत्कालीन फोरम लोकतान्त्रिक०को म्याद थप गरिएको छ ।