भोली र पर्सी सांसदहरूको कोरोना परीक्षण गरिने

बैशाख २१,२०७८

-आस्था न्यूज

वैशाख २१, २०७८ काठमाडौं ।
यही वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ ।
 
संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ ।
 
प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ । बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।
 
सोमबार सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट बच्ने उपायका विषयमा चिकित्सकहरुसंग छलफल गरेका थिए । छलफलमा सहभागी चिकित्सकहरुले संसदमा प्रवेश गर्ने सबैको अनिवार्य कोरोना परीक्षण गर्न सुझाव दिएका थिए ।
 
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएको हो ।