निषेधाज्ञाले इन्टरनेट खपत बढ्यो

बैशाख २५,२०७८

-आस्था न्यूज

वैशाख २५,२०७८ काठमाडौं ।
गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायक सङ्घ, नेपाल (आईस्पान)का अध्यक्ष सुधिर पराजुलीले जानकारी दिनुभयो ।
 
घरमै बस्दा पनि अन्य समयको तुलनामा इन्टरनेटको प्रयोग बढ्ने हुनाले ब्यान्डविथ खपत बढिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार दिनमै पनि अन्य दिनको पिक आवरजस्तै ब्यान्डविथ खपत भइरहेको छ ।
 
निषेधाज्ञाअघि पिक आवरभन्दा अन्य समयमा औसतमा छ सय जीबीपीएससम्म ब्यान्डविथ खपत हुने गरेकामा अहिले त्यस्तो खपत दिउँसो नै नौ सय जीबीपीएससम्म पुगेको पराजुलीले जानकारी दिनुभयो ।
 
पिक आवरमै भने एक टीबीपीएससम्म इन्टरनेट खपत भइरहेको छ । सामान्यतः साँझ ७ः०० बजेदेखि राति १०ः०० बजेसम्मको समयलाई नेपालको इन्टरनेट प्रयोगका हिसाबले पिक आवर मानिन्छ । सामान्य दिनमा यो समयमा इन्टरनेटको प्रयोग दिउँसोभन्दा अत्यधिक बढी हुन्छ ।
 
सरकारले वैशाख १६ गतेयता काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ । यसबाहेक देशका विभिन्न जिल्लामा पनि निषेधाज्ञा जारी भइरहेको छ । कोरोना सङ्क्रमणको गति बढिरहँदा निषेधाज्ञा बढ्न सक्ने सम्भावनाका आधारमा इन्टरनेटको खपत पनि त्यहीअनुसार बढ्ने देखिन्छ । अनलाइनबाटै पढाइ तथा कार्यालयका काम, गेमिङ तथा भिडियो कन्टेन्टको प्रयोग बढ्दा ब्यान्डविथ खपत पनि त्यसैअनुसार बढेको हो ।
 
गत वर्ष कोरोना सङ्क्रमणका कारण जारी बन्दाबन्दीमा पनि नेपालमा इन्टरनेटको प्रयोग अत्यधिक बढेको थियो । त्यतिबेला अर्थात् बन्दाबन्दी जारी भएकै दिन २०७६ चैत ११ गते इन्टरनेटको प्रयोग दोब्बर बढेको थियो । ब्यान्डविथ अत्यधिक प्रयोग हुँदा सेवा प्रदायकहरूले मनोरञ्जनात्मक गतिविधिका लागि इन्टरनेटको प्रयोग घटाउन आग्रह नै गर्नुपरेको थियो ।
 
इन्टरनेटका लागि आवश्यक ब्यान्डविथ नेपालले भारतबाट आयात गर्छ । भारतका टाटा, एयरटेलजस्ता क्यारियरमार्फत ब्यान्डविथ खरिद गर्दै आएको छ । यस्तो ब्यान्डविथ केही सेवा प्रदायकले नेपाल भित्राएर अन्य सेवा प्रदायकलाई बिक्री गर्दै आएका छन् । नेपाल टेलिकम र वल्र्डलिङ्क नेपालमा इन्टरनेट ब्यान्डविथ भित्र्याउने ठूला सेवा प्रदायक हुन् । नेपालले वार्षिक करिब दुई अर्बको ब्यान्डविथ आयात गर्छ । गोरखापत्रमा खबर छ ।