सर्वोच्चले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन दियो अन्तरिम आदेश

बैशाख २८,२०७८

-आस्था न्यूज

२८ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सर्वोच्चले कोरोना भाइरस संक्रमितको उपचारका लागि अक्सिजन आपूर्ति सहज बनाउन र साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

 

अधिवक्ता शैलेन्द्रकुमार अम्बेडकरको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन, थप साधनयुक्त अस्पताल सञ्चालनमा ल्याउन र बिरामीको चाप अनुसार अस्पतालमा जनशक्ति आपूर्ति गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

 

रिटको सुनुवाई गर्दै सर्वोच्चले नगरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने हुनाले अक्सिजन, औषधी, अस्पताल र जनशक्ति व्यवस्थापनका लागि सरोकारवालाको प्रतिनिधित्व हुने गरी एउटा कार्यसमिति बनाउन आदेश  समेत जारी गरेको छ।