चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्री अक्सिजन सिलिन्डर र भेन्टिलेटर मंगलबार काठमाडौं आईपुग्यो

बैशाख २८,२०७८

-आस्था न्यूज

२८ वैशाख, काठमाडौं ।चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्री अक्सिजन सिलिन्डर र भेन्टिलेटर मंगलबार काठमाडौं आइपुगेको छ । चिनियाँ दूतावासका अनुसार नेपाल वायु सेवाको विमानले स्वास्थ्य सामग्रीहरु मंगलबार अपरान्ह काठमाडौं ल्याइपुर्‍याएको छ । चिनियाँ कम्पनी होङ्सी सिमेन्टका तर्फबाट नेपाललाई यी सामग्रीहरु अनुदान दिइएको दूतावासले जनाएको छ ।

 

चीनले सहयोग स्वरूप नेपाललाई उपलब्ध स्वास्थ्य सामग्रीमा  १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डर लगायत छन् ।

 

नेपालको वर्तमान महामारी गम्भीर रहेको भन्दै चीनले नेपाललाई आपतकालीन अनुदान सहयोग प्रदान गर्न समन्वय गरिरहेको चिनियाँ दूतावासले जनाएको छ ।  महामारी विरूद्ध नेपाली जनताको लडाइँलाई समर्थन गर्दै नेपाल सरकारको अनुरोध अनुरुप चीन सरकारले नेपाललाई आपतकालीन चिकित्सा सहयोग पुयाउने निर्णय गरेको दूतावासले जनाएको छ ।

 

गत अप्रिलमा सम्पन्न भिडियो सम्मेलनमा चीन, अफगानिस्तान, पाकिस्तान, नेपाल, श्रीलंका र बंगलादेशका परराष्ट्रमन्त्रीले कोभिडविरुद्धको  लडाईमा सहयोगका बारेमा छलफल गरेका थिए । त्यहीबेला चीनले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि सामग्रीहरुको सहयोग गर्ने वचन दिएको दूतावासले स्पष्ट पारेको छ । 

 

नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिआओलाङले मंगलबार एक विज्ञप्ति मार्फत चीन सरकार नेपाली जनताका साथ दृढतापूर्वक खडा हुने बताउँदै  नेपालमा विभिन्न च्यानलमार्फत चाँडोभन्दा चाँडो थप चिनियाँ सहयोग पुर्याउने जनाएका छ ।