उपत्यकामा अक्सिजनको चरम अभाव , अस्पतालले कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने !

बैशाख २९,२०७८

-आस्था न्यूज

२९ वैशाक २०७८ काठमाडौँ l काठमाडौं उपत्यकाका निजी अस्पतालहरुले अक्सिजनको अभाव भएको भन्दै कोरोना संक्रमित बिरामीलाई भर्ना लिन नसक्ने जनाएका छन् l अस्पतालहरुले सूचना प्रकाशित गरी अक्सिजनको चरम अभाव रहेकोले थप कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न  असमर्थ भएको बताएका छन्। स्वास्थ्य मन्त्रालयले समेत उपत्यकामा माग अनुसार अक्सिजन आपूर्ति गर्न नसकेको जनाएको छ।

 

बुधबार सूचना जारी गर्दै न्डी अस्पतालले अक्सिजन अभाव रहेको बताउँदै थप कोरोना विरामीको उपचार नगर्ने जनाएको छ। अस्पतालका अनुसार नेपाल सरकारबाट दैनिक एक सय वटा मात्र  सिलिण्डर प्राप्त हुने भएकोले  थप विरामीको उपचार गर्न नसकिने बताएको छ। मागभन्दा एकदम थोरै अक्सिजन उपलब्ध भएकोले  अस्पतालहरूले बिरामी भर्ना गर्न नसकिने बताएका हुन् । अक्सिजनको मात्रा आवश्यकता अनुसार प्राप्त भए थप विरामीहरूको भर्ना गरिने सूचनामा भनिएको छ।

 

मंगलबार पत्रकारहरूसँग भर्चुअल कुराकानी गर्दै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उपत्यकामा अहिले दैनिक १५ हजार सिलिण्डर अक्सिजन माग भएकोमा करिब १० हजार सिलिण्डर मात्र आपूर्ति गर्न सकिएको बताए ।

 

मंगलबार ललितपुरस्थित मेडिसिटी अस्पतालले एक सुचना जारी गर्दै अस्पतालमा भनेको छ ‘प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन सिलिण्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिण्डर मात्र प्राप्त हुने जानकारी पाएपछि कुनै पनि हालतमा उपचार गर्न सम्भव छैन,’l  सुचनामा अक्सिजनको चरम अभाव रहेकाले कुनै पनि हालतमा उपचार गर्न नसकिने भनेको छ।  

मेडिसिटीमा १ सय २० जना कोभिडका विरामीको उपचार भइरहेको र ४० जना भन्दा बढीको भेन्टिलेटरसहितको सघन उपचार कक्षमा उपचार भईरहेको बताएको छ l 

 

मंगलबार नै काठमाडौंस्थित नेपाल मेडिकल कलेजले समेत अक्सिजनको व्यवस्था गर्न नसकेको भन्दै विरामीको व्यवस्थापन आफैं गर्न सूचना जारी गरेको थियो । अस्पतालले अक्सिजन आपूर्ति गर्ने कम्पनीको मेसिन बिग्रिएकोले तत्काल अक्सिजन उपलब्ध नहुने भन्दै थप विरामीलाई भर्ना गर्न नसकिने र भएका विरामीलाई पनि अन्यन्त्र व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको थियो।

 

'अस्पतालमा भएको अक्सिजनले आज मिति २०७८ साल वैशाख २८ गते लगभग साँझ ४ बजे सम्मलाई मात्र पुग्ने भएकोले यसबाट विरामीको स्वास्थ्य अवस्थामा गम्भीर समस्या उत्पन्न हुन सक्ने देखिएको हुँदा सो अगावै आ-आफ्नो व्यवस्था गर्न हुन सम्बन्धित सबै विरामी पक्षलाई सूचित गरिन्छ,’ अस्पतालले जारी गरेको सूचनामा उल्लेख  छ।

 

त्यस्तै  मेडिकेयर, हेल्पिङ ह्यान्ड्स, भारतमैत्री र दीर्घायू अस्पतालले पनि अक्सिजन नपुग भन्दै विरामी लिन नसक्ने अवस्था रहेको भनि  विज्ञप्ति जारी गरेका  छन्।