कोरोना संक्रमणबाट आज मात्रै २१४ जनाको मृत्यु

बैशाख ३०,२०७८

-आस्था न्यूज

वैशाख ३०,२०७८ काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले व्यवस्थापन गरेको शवको आधारमा मृत्युको संख्या सार्वजनिक गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ ।
 
 
पछिल्लो केही दिनयता कोरोना संक्रमितको मृत्यु अत्यधिक बढेको छ । मंगलबार एकै दिन २२५ जना र बुधबार १६८ जनाको मृत्यु भएको थियो ।
 
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ ।
 
सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको छ । तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् ।
 
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ५५ रहेको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन लाख २१ हजार ५१८ रहेको छ ।