आज अक्षय तृतीयाः जौको सातु र सर्वत खाएर मनाइँदै

बैशाख ३१,२०७८

-आस्था न्यूज

बैशाख ३१, २०७८ काठमाडौं ।
आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
 
उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् ।
 
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा‍।डा। रामचन्द्र गौतमकाअनुसार यो पर्व हिन्दू सम्प्रदायका मानिसहरूको लागि अरू पर्वभन्दा विशेष छ । यो दिन प्राचीनकालदेखि नै अनेक किसिमका विशेष कार्यहरू भएका छन् । त्यसैले यसलाई विशेष दिनको रुपमा मान्न थालिएको हो ।
 
उनकाअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको हो। यही दिन भगवान परशुराम अवतारको जन्म भयो । त्यसैले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । त्यसैले यस दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।
 
ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन पञ्चांग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिन्छ । शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो । 
 
विवाह, गृहप्रवेश, पदभार ग्रहण, सुन खरीद, नयाँ सामान खरीद, सवारी साधन खरीद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यस दिन अति उत्तम हुने विश्वास गरिन्छ ।