चीनले सगरमाथा आरोहणमा रोक लगायो

जेठ ०१,२०७८

-आस्था न्यूज

जेठ १,२०७८ काठमाडौं ।
चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो ।
 
नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै आरोहण स्थगित गरिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । शुक्रबार चिनियाँ खेलकुद प्रशासनले सूचना जारी गर्दै आरोहण स्थगित भएको जनाएको हो । चीनमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रणउन्मुख रहेको छ । बाहिरबाट फेरि कोरोना नभित्रियोस् भनेर उसले निकै सावधानी अपनाएको छ ।
 
चीनले यस सिजनमा ३८ जनालाई मात्रै सगरमाथा आरोहणको अनुमति दिएको थियो । उनीहरु सबै चिनियाँ नागरिक रहेको समाचार संस्था एपीले जनाएको छ । नेपालले भने यस वर्ष ४ सय ८ जनालाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको छ । गत वर्ष कोरोना महामारीका कारण दुवैतर्फबाट आरोहण भएको थिएन ।
 
सिजनको पहिलो आरोहण बहराइनको टोलीले गरेको थियो । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको १२ जनाको टोली वैशाख २८ गते बिहान सगरमाथाको चुचुरोमा पुगेको थियो ।
 
यसअघि चीनले सगरमाथाको चुचरोमा रेखांकन गरेर नेपालतर्फबाट आरोहीबाट संक्रमण हुनबाट बच्ने बताएको थियो । तर त्यो रेखा कस्तो हुने र कसरी कोर्ने भन्नेबारे भने उसले केही खुलाएको थिएन ।