कोरोना खोप माग्दै इन्धन ढुवानी रोकेर चालकहरु आन्दोलित

आषाढ ०१,२०७८

-आस्था न्यूज

असार १,२०७८ काठमाडौं । 
 
सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको पेट्रोलियम पदार्थको ढुवानी दोस्रो दिन पनि बागमती प्रदेशमा अवरुद्ध भएको छ । कोरोनाविरुद्धको खोप नपाएको भन्दै इन्धन ढुवानी गर्ने चालकहरूले आइतबारबाट सुरु गरेको अवरोध सोमबार पनि जारी रह्यो ।
 
बागमती प्रदेशका लागि भारतको बरौनीबाट पेट्रोल तथा बाराको अमलेखगन्जस्थित निगमको डिपोबाट डिजेल ढुवानी गर्ने र थानकोट प्रादेशिक डिपोबाट पम्पहरूसम्म पेट्रोलियम ढुवानी गर्ने चालकहरू खोप पाउनु पर्ने भन्दै सेवा रोकेर आन्दोलनमा उत्रिएका हुन् ।
 
नेपाल पेट्रोलियम ट्यांकर चालक संघमा संगठित चालकहरूले संघमा आवद्ध २४ सय चालक तथा सहचालकलाई खोपको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।