आजबाट मेलम्चीको पानी रोकियो, काठमाडौंका धारामा २ महिना पानी नआउने

आषाढ ०१,२०७८

-आस्था न्यूज

असार १,२०७८ काठमाडौं । 
आज मंगलबारदेखि मेलम्चीको सुरुङमा पानी हाल्न बन्द गरिएको छ । यो सँगै अब काठमाडौंका धारामा २ महिना मेलम्चीको पानी नआउने भएको छ ।
 
सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न सुरुङमा मंगलबार विहान ११ बजेदेखि पानी पठाउन बन्द गरिएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
 
अब १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएको भए त्यसको समाधान पनि गर्नेछन् ।
 
यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो ।
 
‘सुरुङमा कुनै समस्या नदेखिएमा खाली भएको १५ दिनभित्र सुरुङको सुपरीवेक्षणको काम सकिने प्रवक्ता पन्तले बताए । 
 
उनकाअनुसार करिब ४५ दिन सुरुङ खाली गर्न, सुपरीवेक्षण गर्न र पुन सुरुङ भर्न लाग्नेछ । त्यसपछि आएको पानी नियमित तवरले वितरण गर्न अर्को १५ दिन लाग्न सक्छ ।
 
गत १० फागुनमा मेलम्चीको सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । 
 
सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।