उपेन्द्र यादवले निर्वाचन आयोग पुगेर मागे जसपाको आधिकारिकता

आषाढ ०४,२०७८

-आस्था न्यूज

असार ४,२०७८ काठमाडौं ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगसमक्ष पार्टीको आधिकारिकता माग गरेका छन् । शुक्रबार पार्टी कार्यकारिणी समितिका बहुमत सदस्यले गरेको निर्णयसहित आयोग पुगेका यादवले निर्वाचन आयोगको पछिल्लो निर्णयले पार्टी संगठन सञ्चालनमा बाधा पुगेको भन्दै आधिकारिकता आफूलाई दिन माग गरेका हुन् ।
 
यादव पक्षले दलको विधान, संविधान र राजनीतिक दलसम्बन्धी कानुनअनुसार आधिकारिकता दाबी गरेको भन्दै त्यसमा निर्णय गरिदिन माग गरेको हो ।
यसअघि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षले महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई गरेको कारबाहीसम्बन्धी विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो । त्यस्तै, ठाकुर पक्षले उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको निर्णयलाई पनि मान्यता दिएको थिएन ।
 
आयोगको उक्त निर्णयले पार्टीमा विवाद निरुपण नभएकाले कार्यकारिणीको बहुमतले आधिकारिकता दाबी गर्ने निर्णय भएको यादवले बुझाएको पत्रमा लेखिएको छ ।