ओलीले संसद् विघटन गर्दा नेपालले खोप किन्ने अवसर गुमाएको नेता थापाको भनाई

आषाढ ०५,२०७८

-आस्था न्यूज

असार ५,२०७८ काठमाडौं ।
पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले वर्तमान सरकारले कोरोना विरुद्धको खोप किन्ने अवसर गुमाएको आरोप लगाएका छन् ।
 
शुक्रबार जूममार्फत आयोजित कोभिडविरुद्ध हाम्रो अभियान संवाद शृंखला’लाई सम्बोधन गर्दै थापाले भने, गत पुस महिनामा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन नगरेको भए अहिलेसम्म नेपालमा खोप आइसक्ने थियो ।
 
उनले अगाडि भने, संसद् चलेको भए संसद्‌ले निर्देशन दिन्थ्यो र सरकार खोप किन्न बाध्य हुन्थ्यो । तर सरकारले त्यो अवसर पनि गुमायो । पूर्वमन्त्री थापाले खोप किन्न खर्च गरिएको पैसा खर्च नभएर लगानी भएको पनि बताए । 
 
अधिकांश जनताले खोप लगाइसकेपछि लकडाउन गर्नु पर्दैनथ्यो, अर्थतन्त्र चलायमान हुन्थ्यो र खोप किन्न खर्च गरेको ४०-५० अर्ब रुपियाँ उठिसक्थ्यो, उनले भने, नालायक र अकर्मण्य प्रधानमन्त्रीका कारण देशले ठूलो क्षति व्यहोर्नु परेको छ ।
 
आफू स्वास्थ्यमन्त्री हुँदा भरतपुर अस्पतालमा २ करोड रुपियाँको लागतमा अक्सिजन प्लान्ट बनाउन सफल भएको भन्दै नेता थापाले गत माघ(फागुन महिनामा सरकारले अक्सिजनको प्रबन्ध गर्न नसक्दा सयौं नेपाली नागरिकको ज्यान गएको बताए । प्रधानमन्त्रीको हातमा हत्याको दाग लागेको छ, उनले जिकिर गरे ।
 
उनले कोरोना महामारीका बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महँगो चार्टर्ड उडान गरेर कमिसन खाने यस्तो सरकार संसारमै कहीं नभएको दाबी पनि गरे ।