पशुपति क्षेत्र भित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन पर्यटन मन्त्रीको निर्देशन

आषाढ ०६,२०७८

-आस्था न्यूज

असार ६,२०७८ काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन् । 
 
आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिलान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुनः निर्माणका कामहरूलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिएका हुन्  । 
 
उनले आफु पनि नखाने र अरुलाई पनि खान नदिने आफ्नो एकमात्रै उद्देश्य रहेको बताउँदै कुनैपनि समय आफु आएर हेर्नसक्ने बताए । उनले भ्रष्टाचार हुन नदिनका निम्ति सजग पनि गराए ।
 
उनले भने- ‘पारदर्शी गरिदिनुहोला । म व्यक्तिगत भ्रष्टाचारको विरुद्धको आन्दोलनले आज मन्त्रीसम्म पुगेको छु  र मेरो एउटै उद्धेश्य हुन्छ, न खान्छु न खान दिन्छु कसैलाई । त्यतातिर एकदम पारदर्शी रुपले गर्नुहोला । नत्र जतिबेला पनि म आफैँ आएर हेर्नसक्छु । चेक गर्न सक्छु । त्यतातिर पनि म अहिले नै सतर्क र सजग गराउन चाहान्छु ।’
 
मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध जनाइरहेको सन्दर्भमा मन्त्री अरगरियाले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताए । निर्माणको काम सकिइसकेपछि उनीहरुलाई पुर्नस्थापना गरिने उनले बताए । उनले भने– ‘यो मन्त्रालय संस्कृतिको रक्षा गर्ने मन्त्रालय हो । संस्कृतिको रक्षा हुन्छ । 
 
बाबाहरु यदि पहिलादेखि बसिराख्नुभएको छ भने नठान्दा हुन्छ कि हामीलाई विस्थापित गर्छ । यो कुरामा मन्त्रालय पनि एक्टिभ भएर बाबाहरुको साथमा हुन्छ र यो बनिसकेपछि बाबाहरुलाई पुनःस्थापना दिइनेछ ।’
 
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले पशुपति क्षेत्रलाई तपोभुमिको रुपमा विकास गर्ने ध्येय रहेको बताए । उनले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गरे ।
 
पशुपति क्षेत्र विकास कोषले दाताहरुको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिर को निर्माण गर्न लागेको सदस्य सचिव ढकालले जानकारी दिए ।