उपत्यकामा निषेधाज्ञा खुकुलो बन्यो: निजी सवारीमा जोर बिजोर लागु

आषाढ ०६,२०७८

-आस्था न्यूज

असार ६, २०७८ काठमाडौं ।
उपत्यकामा  निषेधाज्ञा खुकुलो बनाइएको छ । जारी निषेधाज्ञा एक साता थपिएको थप गरिएपनि मापदण्ड खुकुलो बनाइएका छन् ।
 
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ बसेको बैठकले असार ११ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
 
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार थपिएको निषेधाज्ञामा निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पनि पाइनेछ ।
 
निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्नेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन ।
 
‘जनजीवनलाई सहज बनाउँदै लैजानुपर्ने र संक्रमण दर पनि घट्दै गएकाले यो निर्णय गरिएको हो प्रजिअ पराजुलीले बताए ।
 
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार आर्थिक गतिविधिलाई सहज बनाउने गरी प्रशासनले निर्णय गरेको छ । जसअनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान विक्री गर्ने पसल सञ्चालन हुनेछन् ।
 
त्यस्तै, अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछन् । सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय भएको अधिकारीले बताए । यही दिनमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खुल्नेछन् ।
 
बारका आधारमा खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय पनि यथावत छ ।
 
उपत्यका प्रशासनले कोभिड–१९ भाइरसको कारण १६ वैशाखदेखि निषेधाज्ञाको आदेश जारी गरेको थियो ।