आज निर्जला एकादशीः घरघरमा तुलसीको बिउ रोपिने दिन

आषाढ ०७,२०७८

-आस्था न्यूज

असार ७, २०७८ काठमाडौं ।
आज निर्जला एकादशी, आआफ्ना घरको  मठमा तुलसीको बिउ राखिँदै छ ।  प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बिउ एक महिनापछि असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।
 
असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइ बढाइ दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
 
आज पानी समेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ । 
 
नयाँ रुप परिवर्तनसहितको कोरोना महामारी चलेका बेला घरघरमा तुलसीको दल राख्दा र  रोपण गर्दा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग पुग्ने आयुर्वेद चिकित्सक डा।शेषराज आचार्य बताउनुहुन्छ । तुलसीलाई चियाका रुपमा पनि प्रयोग गरिन्छ  ।