कांग्रेस सभापतिमा विमलेन्द्र निधिको पनि दाबी

आषाढ ०७,२०७८

-आस्था न्यूज

असार ७,२०७८ काठमाडौं ।
कांग्रेसको आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न उपसभापति विमलेन्द्र निधिले महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आग्रह गरेका छन् ।
 
आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारी गरेका उपसभापति निधिले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएर गरेको छलफलका क्रममा सहयोगका लागि आग्रह गरेका हुन् ।
 
छलफलका क्रममा आगामी महाविधेशनमा सभापति शेरबहादुर देउवालाई रोक्ने विषयमा बढी केन्द्रित रहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । उनले भने, ‘आगामी महाविधेशनमा शेरबहादुर देउवालाई कसरी रोक्ने भन्ने विषयमा अलि बढी केन्द्रित भएर छलफल भयो ।’
 
उपसभापति निधिको आग्रहमा कोइराला र सिंहले परिस्थति हेरेर निर्णय लिने बताएका छन् । त्यसबाहेक अदालतमा विचाराधिन संसद पुनर्स्थापनाको रिट, बाढी पहिरोको प्रकोप र कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका काम र खोप आयातमा भइरहेको ढिलाईका बारेमा समेत छलफल भएको ती नेताले जानकारी दिए ।
 
वैवाहिक वर्षगाँठको अवसर पारेर उपसभापति निधिले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई लञ्च मिटिङका लागि आफ्नो निवासमा बोलाएका थिए ।
 
सभापति देउवा पक्षमा रहेका उपसभापति निधिले सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले समेत सभापतिको दाबी प्रस्तुत गरिरहेका छन् ।