ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख राहत दिने

आषाढ ०७,२०७८

-आस्था न्यूज

असार ७,२०७८ काठमाडौं ।
ललितपुर महानगरपालिकाले कोरोना प्रभावितहरुलाई राहत उपलब्ध गराउन निर्देशिका जारी गरेको छ ।
 
महानगरले यसअघि प्रभावितहरुलाई राहत उपलब्ध गराउन गरेको घोषणा कार्यान्वनका लागि निर्देशिका जारी गरेको हो । महानगरीय विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोना संक्रमितहरुलाई प्रदान गरिने उपचार तथा राहत सहयोग सम्बन्धी निर्देशिका जारी गरेको हो ।
 
निर्देशिकाअनुसार उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन भएको छ । राहत तथा सहयोगका लागि कोराना प्रभावितका तर्फबाट मृत्यु भएको वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र उपसमितिसमक्ष निवेदन दिनुपर्नेछ । निर्देशिका लागू हुनु पूर्वका बिरामीको हकमा पनि निर्देशिका जारी भएको ३५ दिन भित्रै निवेदन दिनुपर्नेछ ।
 
पूर्ण कागजातसहितको निवेदन प्राप्त भएको १५ दिनभित्र उपचार र राहतसम्बन्धी सहयोग प्रदान गरिने जारी निर्देशिकामा उल्लेख छ । नगरप्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकार नगरबासीको सुखदुखको साथी भएको बताउँदै कोरोना प्रभावितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
 
महानगरस्तरीय विपद् व्यवस्थापन समितिको जेठ २० गते बसेको बैठकले प्रति मृतक एक लाख, भेन्टिलेटर र आइसीयू बसेकालाई जनही ५० हजार, कोरोना संक्रमण भई अस्पताल वा स्वास्थ्य संस्थामा उपचार गराई संक्रमणमुक्त भएकालाई २५ हजार प्रदान गर्ने निर्णय गरेको थियो ।