अब पठाओ र टुटल सेवा पनि जोर बिजोर अनुसार नै सञ्चालन हुने

आषाढ ०७,२०७८

-आस्था न्यूज

असार ७,२०७८ काठमाडौं ।
राइट सेयरिङ सेवा पठाओ र टुटल असार ८ गते अर्थात मंगलबारबाट सञ्चालन हुने भएको छ । करिब २ महिनादेखि निषेधाज्ञाका कारण बन्द रहेका पठाओ र टुटल सेवा सञ्चालनमा आउने भएका हुन् ।
 
टुटल र पठाओ सेवा कम्पनीका अनुसार सरकारले निजी सवारीमा जोरबिजोर लागू गरेकाले आफूहरु पनि जोरबिजोर अनुसार नै सेवा सञ्चालनमा ल्याउने बताएका छन् ।
 
आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रजिअको बैठकले निजी सवारी साधनमा जोर बिजोर लागू गर्ने निर्णय गरेको थियो । करिब दुईमहिनादेखि ट्याक्सी, मोटरसाइकलमा टुटल र पठाओ सेवा सञ्चालन हुन पाएका थिएनन् ।
 
पठाओ कम्पनीका मार्केटिङ म्यानेजर सुरक्षा हमालका अनुसार निषेधाज्ञाकै बीच सरकारले जोरबिजोर लागू गर्दा टुटल र पठाओ सेवा सञ्चालनमा ल्याइने जानकारी दिइन् । उनका अनुसार पठाओ कम्पनीमा सरकारको लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै सेवा सञ्चालन गरिनेबारे छलफल भइरहेको छ ।
 
टुटल सेवा पनि सञ्चालन गर्ने टुटल कम्पनीले जनाएको छ ।