राजनीतिक दलहरुले जनताको आवाजलाई सुन्नु पर्ने चिनियाँ राष्ट्रपति सी को भनाई

आषाढ २२,२०७८

-आस्था न्यूज

असार २२,२०७८ काठमाडौं ।
चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव सी चिनफिङले राजनीतिक दलहरुले जनताको आवाजलाई सुन्नु पर्ने भएका छन् ।
 
सीसीपी र विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलनमा मंगलबार भिडियामार्फत सम्बोधन गर्दै सीले विभिन्न देशका राजनीतिक दलहरुलाई नेतृत्व गर्ने जिम्मेवारी वहन गर्न, जनताको आवाज सुन्नुपर्ने बताएका हुन् । 
 
उनले विभिन्न देशहरूलाई मानवजातीको साझा भविष्यको साथ एक समुदाय निर्माणको दिशामा बढाउन आह्वान पनि गरेका छन् । सन् १९२१ मा स्थापना भएको सीपीसीको एक सयौं वार्षिकोत्सवको उपलक्ष्यमा ‘जनताका लागि सुखमय जीवन सिर्जना गर्नु नै राजनीतिक पार्टीको कार्यभार’ भन्ने विषयक सम्मेलनमा सीले सम्बोधन गरेका हुन् ।
 
उक्त सम्मेलनमा भर्चुअल माध्यमबाट नेपालसहित विश्वभरका १६० भन्दा बढी मुलुक र ५०० भन्दा बढी राजनीतिक पार्टी तथा राजनीतिक संगठनका नेताहरुको उपस्थिती रहेको थियो । यस्तै, १० हजारभन्दा बढी राजनीतिज्ञहरुले उक्त सम्मेलनमा भाग लिएका थिए ।
 
सी विभिन्न मुलुकबीचको इतिहास, संस्कृति, प्रणाली, विकास स्तर फरक फरक भए पनि शान्ति, विकास, न्याय, निष्पक्ष, लोकतन्त्र, स्वतन्त्रता समेत समस्त मानव जातिको साझा मूल्यबारे विभिन्न मुलुकका जनताको साझा लक्ष्य रहेको बताए ।
 
सीले राजनीतिक दल मानव जातिको साझा मूल्यको वकालतकर्ता हुनु पर्ने उल्लेख गरे । साथै, मूल्यलाई व्यवहारमा उतार्ने बाटोबारे विभिन्न मुलुकको छनोटको सम्मान गरी समस्त मानव जातिको साझा मूल्यलाई स्वदेशका जनताको हितलाई व्यवहारमा उतार्ने अभ्यासमा पुर्‍याउनुपर्ने सीले बताएका थिए ।
 
सीले विकास विश्वका केही मुलुकहरुको विशेष अधिकार नभएको उल्लेख गर्दै राजनीतिक पार्टीले विभिन्न मुलुकबीचको सहयोगलाई मजबुत बनाउँदै जानुपर्ने बताए । उनले भने,‘विश्व विकासको निष्पक्षता, प्रभावकारिता, र तालमेललाई उकास्नुपर्छ ।
 
साथै, प्रविधिले नाकाबन्दी, वैज्ञानिक प्रविधिको अन्तर, विकासबाट अलग्याउने कुरामा संयुक्त विरोध गर्नुपर्छ ।’ सीले राजनीतिक दलहरूले सहकार्यलाई सुदृढ पार्ने जिम्मेवारी वहन र विश्वव्यापी जोखिम र चुनौतीहरू सामना गर्न मिलेर काम गर्नु पर्ने बताए ।