बलिउडका अग्रज अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन

आषाढ २३,२०७८

-आस्था न्यूज

असार २३,२०७८ काठमाडौं । 
बलिउडका प्रसिद्ध अभिनेता दिलीप कुमारको ९८ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित हिन्दुजा अस्पताललाई उद्धृत गर्दै बीबीसी हिन्दीले दिलीप कुमारको निधन भएको पुष्टि गरेको छ । 
 
बीबीसी हिन्दीका अनुसार बुधबार बिहान साढे ७ बजे उनको निधन भएको हो । दिलीप कुमारको आधिकारिक टिवट्र ह्यान्डलबाट पनि उनको निधन भएको जानकारी दिइएको छ । कुमारका पारिवारिक मित्र फैसल फारुकीका तर्फबाट उक्त जानकारी दिइएको हो ।
 
बश्वासप्रश्वासमा समस्या देखिएपछि दिलीप कुमारलाई जुन ६ मा अस्पताल भर्ना गरिएको थियो ।
 
‘ट्रेजेडी किंग’ मा रुपमा परिचित दिलीप कुमारले ‘मुगले आजम’, ‘देवदास’, ‘नयाँ दौर’, ‘राम और श्याम’, ‘गंगा-जमुना’, ‘सौदागर’ जस्ता हिट चलचित्रमा अभिनय गरेका छन् । उनी सन् १९९८ मा पछिल्लो पटक ‘किला’ चलचित्रमा देखिएका थिए ।
 
उनलाई सन् १९९१ मा भारत सरकारले पद्मभूषण र सन् २०१६ भारतको दोस्रो ठूलो नागरिक सम्मान पद्मविभूषणबाट सम्मानित गरिएको थियो । त्यस्तै उनले सन् १९९५ मा दादा साहब फाल्के पुरस्कार प्राप्त गरेका थिए । सन् १९९७ मा उनलाई पाकिस्तान सरकारले सबैभन्दा ठूलो नागरिक सम्मान ‘निशान ए इम्तियाज’ बाट सम्मानित गरेको थियो । यो सम्मान स्वीकार गर्नका लागि उनले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग अनुमति लिएका थिए ।