साफ च्याम्यिनसिपको तयारी बढाउन ओलीको निर्देशन

आषाढ २७,२०७८

-आस्था न्यूज

असार २७,२०७८ काठमाडौं ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीले सेप्टेम्बर दोस्रो सातालाई तय भएको साफ च्याम्यिनसिप आयोजनाको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । 
 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार खेलाडी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खेलाडी र सम्बन्धित निकायहरु प्रतियोगिताका लागि तयार भए सरकारले आयोजना गर्न सक्ने बताएका हुन् । 
 
प्रधानमन्त्री ओलीले आयोजनाका लागि सबै तयार भए सरकार पनि तयार भएको बताए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फाका पदाधिकारीहरुले साफ गर्न सक्ने बताएपछि प्रधानमन्त्रीले त्यसका लागि सम्पूर्ण प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।
 
उनले भने, “साफ च्याम्यिनसिप बंगलादेशले आयोजना गर्ने भनेको नसक्ने भयो । नेपालमा गर्ने कि भनेर क्याप्टेनले भन्नुभयो । म तपाईहरुलाई सोध्न चाहन्छु । आर यु रेडी टु वीन त साफ? तपाईहरु खेल्न तयार हुनुहुन्छ कि हुनुहुन्न होइन, आर यु रेडि टु वीन ? यु ह्याव टु वीन द साफ देन वी आर रेडि टु अर्गनाईज्ड द गेम ।”
 
बंगलादेशले प्रतियोगिता गर्न नसक्ने भनेपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ । अब बंगलादेशले आयोजना नगरेको खण्डमा प्रधानमन्त्रीबाट प्राप्त निर्देशन अनुसार नेपालले नै आयोजना गर्ने सम्भावना बढेको छ ।
 
आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी गरेको छ । प्रतियोगिताका लागि सेप्टेम्बर १४ देखि २५ सम्मको समय निर्धारण गरिएको छ । बंगलादेशले कोरोनाको असर, मुख्य प्रायोजकको खडेरी र बंगबन्धु रंगशालाको पुनर्निमाण यसैबर्ष गर्नुपर्ने भएकाले प्रतियोगिता आयोजना गर्न नसक्ने बताइसकेको छ ।