गत जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.१९ प्रतिशत

आषाढ ३१,२०७८

-आस्था न्यूज

असार ३१,२०७८ काठमाडौं ।
गत जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.१९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गत जेठमा मूल्य वृद्धिदर ०.३५ प्रतिशत विन्दुले मात्र कम हो । गत आर्थिक वर्षको जेठमा यस्तो मूल्य वृद्धिदर ४.५४ प्रतिशत थियो ।
 
वार्षिक रुपमा कमी देखिए पनि मासिक रूपमा हेर्दा गत माघयता औसत मूल्यवृद्धिदर क्रमशः बढिरहेको तथ्यांकले देखाउँछ । जसअनुसार गत माघमा बजारको औसत मूल्यवृद्धिदर २.७०, फागुनमा ३.०३, चैतमा ३.१० र वैशाखमा ३.५६ प्रतिशत छ ।
 
चालू आर्थिक वर्षको ११ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.६३ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा २०७८ जेठमा घ्यू तथा तेल, सुर्तिजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको राष्ट्र बैंकको ११ महिनाको प्रतिवेदनमा उल्लेख छ ।
 
यस्तै, जेठ महिनामा काठमाडौं उपत्यकामा मूल्यवृद्धिदर ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत छ । २०७७ जेठमा काठमाडौं उपत्यकामा मूल्यवृद्धिदर ४.४३ प्रतिशत, तराईमा ४.८६ प्रतिशत, पहाडमा ४.१३ प्रतिशत र हिमालमा ४.३४ प्रतिशत रहेको थियो ।
 
गत जेठमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ७९ अर्ब ३७ करोड रुपैयाँले बचतमा थियो । 
 
चालु आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्समार्फत ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १२.६ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । कान्तिपुरबाट