पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुनेमा जोड

श्रावण ०५,२०७८

-आस्था न्यूज

साउन ५,२०७८ काठमाडौं ।
पूर्वाधार क्षेत्रका विज्ञ र राजनीतिज्ञले पूर्वाधार परियोजनामा अनावश्यक राजनीति गर्न नहुनेमा जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले पोलिसी आन्ट्रपेन्योर्स इङ्क (पिइआई)सँगको सहकार्यमा सोमबार आयोजना गरेको ‘महाकाली, गण्डक र अरुण  ठूला पूर्वाधारमा घरेलु राजनीति एवं सार्वजनिक संवाद’ विषयक कार्यक्रममा उनीहरुले आर्थिक समृद्धिका लागि ठूला पूर्वाधार विकास अपरिहार्य भएकाले यसमा अनावश्यक बहस गर्न नहुनेमा ध्यानाकर्षण गराए।
 
पूर्वाधार विकास गर्दा पूर्वतयारीका क्रममा परियोजनाबारे जनतालाई बुझाउने र जानकारी दिने तथा अपनत्व बढाउनेतर्फ भने पर्याप्त काम हुनुपर्ने सहभागीको भनाइ थियो । पूर्वाधार परियोजना निर्माण गर्दा अर्थतन्त्रसहित राष्ट्रहित महत्वपूर्ण हुने पूर्वाधार परियोजनालाई अनावश्यक राजनीतिबाट टाढा राखेर राष्ट्रहितमा अधिकतम उपयोग गर्नुपर्ने र भोटका लागि ‘बार्गेनिङ’ गर्ने औजार बनाउन नहुनेमा सहभागीको मतैक्य थियो ।
 
कार्यक्रममा पूर्वअर्थमन्त्री डा. रामशरण महतले पूर्वाधार विकासलाई राजनीतिकरूपमा नहेरी राष्ट्रको हितलाई ध्यानमा राखेर आयोजना सञ्चालन गरिनुपर्नेमा जोड दिए। अरुण तेस्रो पञ्चायतकालमै अध्ययन भएको आयोजना भए पनि विसं २०४८ मा सरकारले विश्व बैंक र एशियाली विकास बैंकबाट एक अर्ब अनुदान प्राप्त गरी सञ्चालन गर्न लागेकामा तत्कालीन प्रमुख प्रतिपक्षी दलले रोकेको उनको भनाइ थियो । 
 
सार्वजनिक निकायबाट लगानी असम्भव भएमा निजी क्षेत्र र वैदेशिक लगानी ल्याउनुपर्ने बताउँदै प्रतिस्पर्धात्मकरूपमा परियोजना दिँदा नेपालले ठूलो फाइदा लिन सक्ने महतले सुनाए।
 
अरुण तेस्रो र माथिल्लो कर्णालीमा सरकारले धेरै निःशुल्क ऊर्जा र शेयर पाएको उल्लेख गर्दै उनले बूढीगण्डकीलाई बिनाप्रतिस्पर्धा दिन खोजिनु गलत भएको बताए।