छ स्वर्णसहित चीन टोकियो ओलम्पिकको शीर्ष स्थानमा

श्रावण ११,२०७८

-आस्था न्यूज

साउन ११,२०७८ काठमाडौं ।
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।
 
चीनले हालसम्म छ स्वर्ण, एक रजत र चार कास्यसहित ११ पदक प्राप्त गरेको छ ।
 
प्रतियोगितामा जापान दोस्रो तथा अमेरिका तेस्रो स्थानमा रहेका छन् । जापानले हालसम्म पाँच स्वर्ण र एक रजत तथा अमेरिकाले चार स्वर्ण, दुई रजत र चार कास्य प्रदक प्राप्त गरेको छ ।
 
यस्तै दुई स्वर्ण र तीन कास्यसहित कोरिया चौथो तथा एक स्वर्ण, चार रजत र दुई कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको पाँचौँ स्थानमा रहेको छ ।
 
यसैगरी इटाली, अस्ट्रेलिया, फ्रान्स, हङ्गेरी, ट्युनिसिया, अस्ट्रिया, इक्वेडर, इरान, कोसोभो, नर्वे, थाइल्याण्ड र उज्बेकिस्तानले एक एक स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ४२ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।
 
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसकेका छन् । दुवै जना पराजित भएका छन् ।  परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
 
टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार प्रतिस्पर्धा गर्नेछन् ।