जोखिम भत्ता नपाएपछि वीरका कर्मचारी फेरी आन्दोलित

श्रावण १७,२०७८

-आस्था न्यूज

साउन १७,२०७८ काठमाडौं ।
कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का स्वास्थ्यकर्मी जोखिम भत्ता माग गर्दै आन्दोलित भएका छन् । 
 
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको लागि आवश्यक रकम निकासा गरे पनि समयमै वितरण नभएपछि गएको आर्थिक वर्षमा सो रकम त्यत्तिकै फ्रिज भएको थियो ।
 
कोरोनाको पहिलो लहरदेखि फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइकर्मी लगायतका कर्मचारीले जोखिम भत्ता र ओभरटाइम काम गरेबापतको अतिरिक्त रकम तथा सधैँ खाइपाइ आएको औषधि उपचार खर्च समेत नपाएको आन्दोलनरत पक्षको भनाइ छ ।
 
वीरमा केही महिनाअघि नयाँ कार्यकारीको रूपमा डा जागेश्वर गौतम पुगेका थिए ।
 
उनीहरूले आफूहरूले पाउनुपर्ने रकम दिन निरन्तर आग्रह गर्दा पनि सुनुवाइ हुन नसकेपछि आन्दोलन गर्नुपरेको बताउँदै आएका छन् । भत्ताको माग गर्दा अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमले प्रहरी बोलाएको आन्दोलनकारीहरुले आरोप लगाएका छन् । आक्रोशित उनीहरूले जोखिम भत्ता माग गर्दै आइतबार गौतमको राजीनामा समेत माग्दै चर्को नाराबाजी गरेका थिए ।