एसएसबीले तुइन काटेर मान्छे नदिमा खसेको विषयमा सरकार मौन बसेको भन्दै सांसदहरुको आक्रोश

श्रावण १८,२०७८

-आस्था न्यूज

साउन १८, २०७८ काठमाडौं ।
सरकारले तुइन तर्ने क्रममा महाकाली नदीमा नेपाली नागरिक खसेको घटनाबारे राष्ट्रियसभालाई जानकारी गराएको छ । तर भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को संलग्नताबारे सरकार मौन बसेको छ ।
 
राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताए ।
 
यसबारे छानविन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली बनाएको भन्दै उनले आज धनगढीतर्फ गइसकेको बताए। आवश्यक पर्‍यो भने हेलिकप्टरमार्फत पनि घटनास्थलसम्म पुर्‍याउँछौं, उनले भने ।
यसअघि नै जिल्लाबाट गएको टोलीले जयसिंहभन्दा अगाडि तुइन गरेर पारी पुग्नेहरुसँग सोधपुछ गरेको र वारी रहेकाहरुलाई सदरमुकाम बोलाइएको उनले बताए । तर उनले प्रत्यक्षदर्शीहरुले भने जस्तो भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको तार काटेको वा फुकाएको विषयमा केही बोलेनन् ।
 
सांसदहरुले एसएसबीले तुइन काटेकै कारण जयसिंह नदीमा खसेको भनेर प्रत्यक्षदर्शीहरुले भनिसक्दा पनि सरकार किन मौन बसेको भनेर प्रश्न गरेका छन् ।
 
जवाफका क्रममा गृहमन्त्री खाँणले भने आम नागरिक र सांसदहरुको धारणालाई सरकारले गम्भीर रुपमा लिएको बताए । तर आफैंले छानविनका लागि समिति बनाएकाले त्यसलाई प्रभावित हुने गरी राय दिन नमिल्ने बताए ।